सामाजिक सञ्जालमा सहयोगको होड र वास्तविक पीडितको पीडा !
सामाजिक सञ्जाल आज कसैका लागि मनोरञ्जनको माध्यम बनेको छ, कसैका लागि प्रचारप्रसारको, त कसैका लागि दुःखमा परेका मानिसको जीवन बचाउने आशाको माध्यम। तर पछिल्लो समय सहयोग संकलनलाई नै प्रतिस्पर्धाजस्तो बनाउने, भावनात्मक कथा प्रस्तुत गरेर आर्थिक सहयोग जुटाउने र अनावश्यक विषयलाई भाइरल बनाउने प्रवृत्तिले गर्दा वास्तविक पीडितहरू ओझेलमा पर्ने हुन् कि भन्ने चिन्ता बढ्दै गएको छ।
म आफैँले दर्जनौँ अति गरिब, असहाय र दुःखमा परेका व्यक्तिहरूका लागि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गर्दै आएको छु। मेरो पहलबाट सहयोग जुटेर नयाँ जीवन पाएका व्यक्तिहरू पनि छन्। त्यसैले कसैको पीडा, अभाव र असहाय गरिबको अवस्थालाई मैले नजिकबाट महसुस गरेको छु ।
यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु-सामाजिक सञ्जालमार्फत अरूलाई सहयोगको अपिल गर्दै हिँड्ने म र मेरो परिवार पनि कुनै सम्पन्न परिवार होइनौँ। हाम्रो जीवन र परिवारमा पनि अनेकौँ ठूला-ठुला दुःख, समस्या र चुनौतीहरू नआएका होइनन् आर्थिक समस्या नआएको होईन । तर सामान्य आर्थिक अवस्थाका बाबजुद हामीले नआत्तिई, नमाती हिम्मतका साथ समस्याहरूसँग सामना गर्दै आएका छौँ ।
ऋण कसलाई लाग्दैन र? तर ऋण माग्दा साथीभाइ वा साहुले पत्याउने अवस्था बनाउन पनि आफ्नो इमानदारी, व्यवहार र विश्वास जोगाइराख्नुपर्छ। जीवनमा समस्या पर्दैमा हरेकपटक सामाजिक सञ्जालमा सार्वजनिक अपिल गर्नैपर्छ भन्ने पनि होइन। आत्मसम्मान र हिम्मतका साथ सम्भव भएसम्म आफ्नै स्रोत साधनबाट समस्याको सामना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
तर सबैको अवस्था एउटै हुँदैन।
अहिले ताप्लेजुङको दुर्गम गाउँका एक नौ वर्षीय बालक विगत तीन महिनादेखि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छन्। परिवार तथा बुबा-आमाले गाउँमा सुँगुर र कुखुरा बेचेर जम्मा गरेको ६० हजार रुपैयाँ बोकेर उपचारका लागि काठमाडौं आएको रहेछ। त्यो रकम केही हप्तामै सकिएपछि गाउँघरका छिमेकीहरूले समेत आर्थिक समस्या बुझेर गाउँका छारछिकेकी सबै सँग केहि सहयोग जुटाएर पठाएका थिए त्यो सहयोग पनि सकिएपछि अहिले बालकका बुबा छोराको उपचारका लागि आर्थिक सहयोगको अपिल मलाई गरिरहेका छन्।
यस्तो अवस्था देख्दा मन निकै भारी हुन्छ । एकातिर सहयोगको वास्तविक आवश्यकता भएका यस्ता परिवार छन्, अर्कोतिर सामाजिक सञ्जालमा दैनिकजसो अनेकौँ सहयोगका अपिलहरू देखिन्छन् र अनेकौं टिकाटिप्पणीहरु देख्छु।
अब म आफैँ अलमल्लमा परेको छु-कसरी सहयोग जुटाउने? कसलाई अनुरोध गर्ने? कुन कथा वास्तविक पीडाको आवाज हो र कुनचाहिँ भावनात्मक प्रस्तुति मात्र हो भन्ने कुरा आम मनकारीहरु सम्म कसरी पुर्याउने?
मेरो भनाई र तात्पर्य कसैलाई सहयोग गर्न नहुने भन्ने होइन, वास्तविक पीडित सहयोग पाउनबाट वञ्चित हुनु नपरोस् भन्ने हो।
कसैले सहयोगको नाममा गलत फाइदा उठाएको हुन सक्छ भन्दैमा सबैलाई शंकाको दृष्टिले हेर्नु अन्याय हुन्छ। त्यसैगरी, भावनामा बगेर सत्यतथ्य नबुझी सहयोग गर्दा वास्तविक पीडितका लागि जुटाउन सकिने सीमित स्रोत गलत ठाउँमा पुग्न सक्छ।
त्यसैले सहयोग गर्नुअघि सम्भव भएसम्म केही कुरा बुझौँ:
किनकि दुःखको प्रचार गर्न सक्ने क्षमता सबैसँग हुँदैन, तर दुःख भोग्नेहरू धेरै छन्। सामाजिक सञ्जाल चलाउन नजान्ने, आफ्नो पीडा सार्वजनिक गर्न नसक्ने र सहयोग माग्नसमेत अप्ठ्यारो मान्ने मानिसहरू पनि हाम्रो समाजमा छन्। उनीहरूको पीडा भाइरल हुँदैन भन्दैमा कम वास्तविक हुँदैन।
सहयोग गर्ने मनलाई मर्न नदिऔँ, तर विवेक र मानवीय संवेदनालाई पनि सँगसँगै अगाडि बढाऔँ र आर्थिक सहयोग कसैलाई नगरे पनि घृणा र अपमान पनि नगरौं।
हाम्रो सानो सहयोगले कसैको जीवन बचाउन सक्छ। हाम्रो सचेत निर्णयले वास्तविक पीडितसम्म सहयोग पुर्याउन सक्छ।
सहयोग गरौँ, सत्य बुझेर गरौँ।
शंका गरौँ भने पनि मानवीय संवेदना नगुमाऔँ।
वास्तविक पीडितको पीडा भाइरल नभए पनि हाम्रो नजरमा परोस्।
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter