रेडियो

ताप्लेजुङ। पूर्वी नेपालको ताप्लेजुङ जिल्ला, मिक्वाखोला गाउँपालिका-४, साँबामा अवस्थित फङ्फङ्देन झरना नेपाल सरकारले नेपालको १०० पर्यटकीय गन्तव्यको सूची भित्र समावेश गरेको एक महत्वपूर्ण प्राकृतिक सम्पदा हो। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक पहिचान र सांस्कृतिक विविधताले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र स्थानीय आर्थिक विकास गर्ने उद्देश्यले २०८१ सालदेखि सुरु भएको फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव यस वर्ष पनि निरन्तरता पाउँदैछ।

२०८३ साल मंसिर २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता फुटबल तर्फ विजेतालाई रु ३,०२,०८३ र उपविजेतालाई रु १,५२,०८३ बराबरको अलैँची पुरस्कार पाउनेछन, सांस्कृतिक कार्यक्रम तथा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। चर्चित गायक शम्भु राई, सुनिता थेगिम, बबिना किराती राईलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले महोत्सवको रौनक थप्ने अपेक्षा गरिएको छ।

फङ्फङ्देन: प्रकृति, धर्म, संस्कृति र ऊर्जा पर्यटनको अनुपम संगम

फङ्फङ्देन झरना प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन। स्थानीयवासीहरूको दाबीअनुसार यो दक्षिण एसियाकै आकर्षक झरनामध्ये एक हुन सक्ने सम्भावना बोकेको क्षेत्र हो। यद्यपि यस दाबीको आधिकारिक पुष्टि तथा अध्ययन हुन बाँकी छ।

ताप्लेजुङको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र पाथिभरा मुकुम्लुङपछिको दोस्रो धार्मिक आस्थाको केन्द्र फङ्फङ्देन देवीप्रति स्थानीय समुदायको गहिरो विश्वास र श्रद्धा रहिआएको छ। लिम्बू तथा शेर्पा समुदायसँग जोडिएको ऐतिहासिक सम्बन्ध, मौलिक भाषा, संस्कृति, परम्परा, सभ्यता र धार्मिक मान्यताका दृष्टिले पनि यो क्षेत्र अध्ययन तथा अनुसन्धानका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्छ।

यसका अतिरिक्त एउटै क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाको बाँध (ड्याम), जलाशय तथा पावर हाउससमेत अवलोकन गर्न सकिने विशेषताले यहाँ ऊर्जा तथा प्राविधिक पर्यटनको नयाँ सम्भावना थपेको छ।

प्राकृतिक झरना, धार्मिक आस्था, जातीय तथा सांस्कृतिक इतिहास, जलविद्युत् आयोजना र मनोरम प्राकृतिक वातावरणलाई एकीकृत रूपमा पर्यटनसँग जोड्न सके फङ्फङ्देन पूर्वी नेपालको मात्र नभई समग्र नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने प्रशस्त सम्भावना रहेकोछ।

वार्षिक मेला मात्र होइन, जिल्लाकै पहिचान बनाउने साझा अभियान

फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सवलाई केवल मनोरञ्जन, खेलकुद र सांस्कृतिक प्रस्तुतिमा सीमित राख्नु हुँदैन। यसलाई प्रकृति, धर्म, संस्कृति, इतिहास, भाषा, कला, अध्ययन, अनुसन्धान र ऊर्जा पर्यटनको साझा उत्सवका रूपमा विकास गर्न आवश्यक छ।

यसका लागि स्थानीय सरकारको स्वामित्व, स्थानीय समुदायको सक्रिय सहभागिता र सबै राजनीतिक दल, सामाजिक संघसंस्था, पर्यटन व्यवसायी, कलाकार तथा सरोकारवालाहरूको साझा अपनत्व अपरिहार्य छ।

महोत्सवलाई व्यवस्थित, दीर्घकालीन र परिणाममुखी बनाउन स्थानीय सरकारले आवश्यक बजेट, पूर्वाधार विकास, प्रचारप्रसार, यातायात, आवास, सुरक्षा तथा पर्यटनमैत्री वातावरण निर्माणमा विशेष प्राथमिकता दिनुपर्छ। साथै स्थानीय उत्पादन, कृषि, घरेलु उद्योग, हस्तकला, मौलिक परिकार तथा स्थानीय व्यवसायलाई महोत्सवसँग जोड्न सके स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुग्नेछ।

महोत्सव अवधि भित्र १ दिन सार्वजनिक बिदा: पर्यटन प्रवर्द्धनको एउटा नयाँ पहल

फङ्फङ्देन महोत्सवलाई मिक्वाखोला गाउँपालिकाको मात्र नभई समग्र ताप्लेजुङ जिल्लाको साझा उत्सवका रूपमा स्थापित गर्न महोत्सव अवधिमध्ये कम्तीमा एक दिन मिक्वाखोला गाउँपालिकाभरि स्थानीय सार्वजनिक बिदा घोषणा गर्ने विषयमा गाउँपालिकाले आवश्यक पहल गर्नुपर्छ भन्ने मेरो धारणा छ।

स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही गाउँपालिकाले आफ्नो अधिकारक्षेत्रभित्र सांस्कृतिक तथा पर्यटकीय महत्वका कार्यक्रमलाई संस्थागत गर्न आवश्यक निर्णय गर्न सक्छ। त्यसैले महोत्सवको महत्व र स्थानीय अपनत्वलाई अझ व्यापक बनाउन एक दिन सार्वजनिक बिदा घोषणा गर्ने प्रस्ताव सकारात्मक पहल हुन सक्छ।

यससँगै छिमेकी स्थानीय तहहरूसँग समन्वय र सहकार्य गरी महोत्सवको प्रचारप्रसार तथा सहभागिताको दायरा विस्तार गर्दै क्रमशः जिल्ला समन्वय समिति, ताप्लेजुङका सबै स्थानीय तह तथा सम्बन्धित प्रदेश सरकारसँग समेत समन्वय गरी भविष्यमा महोत्सव अवधि भित्र १ दिने ताप्लेजुङ जिल्लाभरि नै सार्वजनिक बिदा दिने वातावरण निर्माण गर्न सकियो भने यसको महत्व र प्रभाव अझ व्यापक बन्नेछ र यो केवल एक दिनको बिदाको विषय होइन, जिल्लाको पर्यटन, संस्कृति, पहिचान र स्थानीय अर्थतन्त्रलाई प्राथमिकता दिने एउटा साझा अभियान पनि हो।

सबैको साझा उत्सव बनाऔँ, फङ्फङ्देनलाई विश्वसामु चिनाऔँ ।

फङ्फङ्देनको प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन स्थानीय सरकार, समुदाय र सबै सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आवश्यक छ।

आज हामीले यसको संरक्षण, पूर्वाधार विकास र व्यवस्थित प्रचारप्रसारमा लगानी गर्न सके भोलि फङ्फङ्देन हजारौँ पर्यटकको आकर्षण, स्थानीय युवाको रोजगारीको आधार र ताप्लेजुङको आर्थिक समृद्धिको एउटा महत्वपूर्ण माध्यम बन्न सक्छ।

त्यसैले फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव-२०८३ लाई सफल बनाउन देशविदेशमा रहनुभएका सम्पूर्ण ताप्लेजुङवासी, पर्यटनप्रेमी, संस्कृतिप्रेमी, बुद्धिजीवी, व्यवसायी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी हुन, प्रचारप्रसार गर्न र साथ–सहयोग पुर्‍याउन हार्दिक अपिल गर्दछु।

फङ्फङ्देन हाम्रो प्राकृतिक सम्पदा हो, हाम्रो धार्मिक आस्था हो, हाम्रो सांस्कृतिक पहिचान हो र समृद्ध ताप्लेजुङ निर्माणको एउटा सम्भावनाको ढोका हो।

आउनुहोस्, सबै मिलेर फङ्फङ्देनलाई चिनाऔँ, संरक्षण गरौँ र पर्यटनको राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गरौँ।

फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ सफल पारौँ ।

 

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2026 Dhanjit Limbu